शुक्रबार २२ जेठ २०८३
राजनीति

नयाँ पार्टी खोल्ने धवल शम्शेरको घोषणा

बिहीबार जेठ २१, २०८३/ Thursday 06-04-26

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता धवल शम्शेर राणाले नयाँ राजनीतिक दल गठन गर्ने तयारीमा रहेको घोषणा गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै राणाले राप्रपा आफ्नो मूल उद्देश्य र मूल्यबाट विचलित भइसकेको दाबी गर्दै नयाँ पार्टी निर्माण अपरिहार्य बनेको बताए।

उनले पाँच वर्षअघि पार्टी नेतृत्व परिवर्तनका लागि राजेन्द्र लिङ्देनलाई समर्थन गर्दै अध्यक्ष बनाउन भूमिका खेलेको स्मरण गरे। तर अहिले परिस्थितिले आफूहरूलाई पार्टी छोड्न बाध्य बनाएको भन्दै उनले यसलाई व्यक्तिगत रूपमा दुःखद क्षण भएको बताए।

“आजको दिन खुसीको होइन, पीडाको दिन हो। तर आफूले विश्वास गरेको विचार र सिद्धान्तलाई अगाडि बढाउन पुरानो संरचनाभित्र सम्भव छैन भन्ने निष्कर्षमा पुगेपछि नयाँ बाटो रोज्नैपर्छ,” उनले भने।

राणाले वर्तमान राप्रपालाई “मक्किएको र चर्किएको घर” को संज्ञा दिँदै त्यसमा बसिरहनुभन्दा नयाँ राजनीतिक शक्ति निर्माण गर्नु उपयुक्त हुने धारणा व्यक्त गरे। पछिल्ला चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा चुनौतीपूर्ण समय भएको उल्लेख गर्दै उनले पार्टी सुधार र एजेण्डा कार्यान्वयनका लागि गरेका प्रयास सफल हुन नदिइएको आरोप लगाए।

उनका अनुसार राप्रपालाई बलियो बनाउने, आन्दोलनलाई प्रभावकारी ढंगले अघि बढाउने र राष्ट्रिय राजनीतिमा प्रमुख शक्ति बनाउने उद्देश्यका साथ आफू सक्रिय भए पनि नेतृत्वबाट अपेक्षित सहयोग नपाएको अनुभव गरेका छन्।

धवल शम्शेर राणासहित १८६ जना नेता तथा कार्यकर्ताले बिहीबार सामूहिक रूपमा राप्रपा परित्याग गरेको घोषणा गरेका छन्। उनीहरू निकट भविष्यमा नयाँ राजनीतिक दल स्थापना गर्ने तयारीमा जुटेका छन्।

तपाईको प्रतिक्रिया