कुशलको शतकमा नेपालले मलेसियालाई दियो २७६ रनको विशाल लक्ष्य
काठमाडौं । ओपनर कुशल भुर्तेलको शानदार शतकीय प्रदर्शनको मद्दतमा नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियासामु २७६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २७५ रनको विशाल स्कोर खडा गर्यो।
नेपालको इनिङ्समा कुशल भुर्तेल मुख्य आकर्षण बने। उनले ५४ बलमा १२६ रनको विस्फोटक इनिङ्स खेले, जसक्रममा १४ चौका र ८ छक्का प्रहार गरे।
यो उपलब्धिसँगै कुशलले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक पूरा गरेका छन्। यसअघि उनले यही प्रतियोगितामा चीनविरुद्ध पनि शतक बनाएका थिए।
समग्रमा उनको टी–२० अन्तर्राष्ट्रिय करियरको यो तेस्रो शतक हो। साथै, लगातार दुई टी–२० अन्तर्राष्ट्रिय खेलमा शतक बनाउने पहिलो नेपाली खेलाडीको कीर्तिमानसमेत उनले आफ्नो नाममा लेखाएका छन्। विश्व क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने उनी १०औँ खेलाडी बनेका छन्।
कुशलको उत्कृष्ट प्रदर्शनले नेपाललाई प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बलियो अवस्थामा पुर्याएको छ।
तपाईको प्रतिक्रिया