एसीसी महिला प्रिमियर कप : भुटानमाथि नेपालको लगातार दोस्रो जित
काठमाडौं । एसीसी महिला प्रिमियर कपअन्तर्गत समूह ‘डी’ को खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ।
मलेसियास्थित कोलेज टुंकु जाफर ओभलमा ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो। भुटानका डिचेन वाङ्मो ३९ रनमा अविजित रहँदा चाडो ओमले ११ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि रुबिना क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइन्। रिया शर्माले २ विकेट हात पारिन् भने कविता कुँवर र मनीषा उपाध्यायले समान १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको थियो। सीता रानामगरले सर्वाधिक ३७ रन बनाइन् भने रुबिना क्षेत्रीले २४ रनको योगदान दिइन्। सोनी पाख्रिनले १३ तथा सम्झना खड्काले १० रन जोडिन्।
भुटानका लागि छिरिङ जाङ्मो र सोनामले समान ३–३ विकेट लिए। अन्जु गुरुङले २ विकेट लिँदा रित्शी छोडेन र रिया प्रधानले १–१ विकेट हात पारे।
लगातार दुई जितसँगै नेपालले ४ अंक जोड्दै समूह ‘डी’ को शीर्ष स्थान कायम राखेको छ। हङकङ २ अंकसहित दोस्रो स्थानमा छ भने लगातार दुई खेल हारेको भुटान अंकविहीन रहेको छ।
नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको थियो। अब नेपालले शनिबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
तपाईको प्रतिक्रिया