शुक्रबार २२ जेठ २०८३
बिश्वो

गाजामा इजरायली आक्रमण जारी, कम्तीमा ८ जनाको मृत्यु

बिहीबार जेठ २१, २०८३/ Thursday 06-04-26

एजेन्सी । गाजा क्षेत्रमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। प्यालेस्टिनी नागरिक सुरक्षा एजेन्सीका अनुसार गाजाका विभिन्न आवासीय क्षेत्रमा भएको आक्रमणमा सात जना तथा गाजा सहरको पश्चिमस्थित अल–साती शरणार्थी शिविरमा एक जनाको ज्यान गएको हो।

नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासका अनुसार गाजा सहरको अल–सिफा अस्पताल नजिक भएको आक्रमणमा थप १५ जना घाइते भएका छन्।

युद्धविराम लागू भएको दाबी गरिए पनि गाजामा हिंसा रोकिएको छैन। दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाइरहेका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएयता इजरायली आक्रमणबाट कम्तीमा ९३६ जनाको मृत्यु भइसकेको छ।

युद्धविरामको पहिलो चरणमा हमासले कब्जामा राखेका इजरायली बन्धक र इजरायलले नियन्त्रणमा राखेका प्यालेस्टिनी बन्दीहरूको आदानप्रदान गरिएको थियो। दोस्रो चरणमा हमासको निशस्त्रीकरण र गाजाबाट इजरायली सेनाको क्रमिक फिर्तीको योजना भए पनि त्यसले अपेक्षित गति लिन सकेको छैन।

यसैबीच, इजरायली प्रधानमन्त्री Benjamin Netanyahu ले हालै गाजाको करिब ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन सेनालाई निर्देशन दिएको बताएका छन्। उता, हमासको सशस्त्र शाखाका एक प्रमुख कमाण्डर मोहम्मद ओदेह पनि गत साता भएको इजरायली आक्रमणमा मारिएको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया