काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारतको औपचारिक भ्रमणमा प्रस्थान गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत उनको भ्रमणबारे औपचारिक जानकारी दिएको हो।
मन्त्रालयका अनुसार मन्त्री खनाल यसअघि जेठ २३ गते भारत जाने तयारीमा रहेका भए पनि केही प्राविधिक कारणले भ्रमण तालिका परिवर्तन गरिएको थियो। संशोधित कार्यतालिकाअनुसार उनी शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नेछन्।
भारत भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना भारतीय समकक्षी एस. जयशंकरसहित त्यहाँका उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहयोग तथा साझा हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको टोली हाल भारत भ्रमणमा रहेको छ। उक्त भ्रमणले विशेष महत्व पाएको छ भने लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट गरेका छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री खनालको भ्रमणमा प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणका विषयमा पनि छलफल हुने सम्भावना छ। साथै, नेपाल–भारत सीमा विवादलगायत द्विपक्षीय सरोकारका मुद्दाहरूमा समेत कुराकानी हुन सक्ने बताइएको छ।
मन्त्रीस्तरीय छलफलपछि प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका एजेन्डा र प्राथमिकता तय गर्ने प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया