शनिबार २३ जेठ २०८३
राजनीति

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने

शुक्रबार जेठ २२, २०८३/ Friday 06-05-26

काठमाडौँ । नेकपा एमालेले जेनजी आन्दोलनसँग सम्बन्धित राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनप्रति असहमति जनाउँदै आवश्यक परे अदालतसम्म जाने तयारी गरेको जनाएको छ।

एमाले महासचिव शङ्कर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गते भएका घटनाबारे आयोगले तयार पारेको प्रतिवेदनलाई पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक भन्दै आपत्ति व्यक्त गरेका छन्।

एमालेले अदालत जानुअघि प्रतिवेदन पुनरावलोकन गर्न आयोगसमक्ष औपचारिक आग्रह गर्ने जनाएको छ। विज्ञप्तिमा विधिको शासन, संविधान र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणलाई आधार बनाएर आगामी कदम तय गरिने उल्लेख गरिएको छ।

पार्टीले देशमा विकसित राजनीतिक, संवैधानिक तथा लोकतान्त्रिक विषयमा विभिन्न राजनीतिक दल र सरोकारवालासँग संवाद तथा सहकार्य गरी साझा धारणा निर्माण गर्ने वातावरण बनाउन पहल गर्ने पनि जनाएको छ।

त्यस्तै, प्रतिवेदनबाट प्रभावित पक्षको तर्फबाट आयोगसमक्ष आपत्ति जनाउने वा पुनरावलोकनको माग गर्ने, संवैधानिक प्रश्न उठेमा न्यायिक पुनरावलोकनका लागि अदालत जाने र आवश्यक परे उपलब्ध सबै कानुनी विकल्प प्रयोग गर्ने तयारी रहेको एमालेले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया