शनिबार २३ जेठ २०८३
राजनीति

सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

शुक्रबार जेठ २२, २०८३/ Friday 06-05-26

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि भएको छानबिनको प्रतिवेदन सरकारलाई बुझाइएको छ।

छानबिन समितिका संयोजक अच्युतप्रसाद भण्डारीले प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाइएको जानकारी दिए। प्रतिवेदन ४५ पृष्ठको रहेको छ।

समितिले गुरुङसँग बयान लिएको थियो। साथै उनीमाथि लागेका आरोपबारे सम्बन्धित निकायसँग जानकारी लिने र सम्पत्ति विवरण अध्ययन गर्ने काम पनि गरेको थियो।

सरकारले २८ वैशाखमा भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

सुधन गुरुङमाथि व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको आरोप लागेको थियो। भट्ट सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेपछि गुरुङ पनि विवादमा तानिएका थिए।

त्यसपछि गुरुङले सम्पत्ति विवरणमा केही सेयर नदेखाएको र विवादास्पद व्यापारीको कम्पनीमा लगानी गरेको विषय सार्वजनिक भएको थियो। बढ्दो आलोचनापछि उनले ९ वैशाखमा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

राजीनामा दिँदै उनले आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिन हुनुपर्ने बताएका थिए।

हाल गृह मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा सञ्चालन भइरहेको छ। छानबिन प्रतिवेदनको निष्कर्ष सार्वजनिक भएको छैन। प्रतिवेदनले गुरुङलाई निर्दोष ठहर गरेमा उनी फेरि गृहमन्त्री बन्न सक्ने चर्चा भइरहेको छ।

तपाईको प्रतिक्रिया