शनिबार २३ जेठ २०८३
राजनीति

नेतृत्व छाडेर संरक्षक बस्न लिङ्देनलाई ज्ञानेन्द्र शाहीको सुझाव

शुक्रबार जेठ २२, २०८३/ Friday 06-05-26

काठमाडौं। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा अब पार्टी प्रभावकारी रूपमा अघि बढ्न नसक्ने बताएका छन्। उनले पाँच वर्षसम्म लिङ्देनको नेतृत्वलाई समर्थन गरे पनि वर्तमान परिस्थितिमा नेतृत्व परिवर्तन आवश्यक भएको निष्कर्षमा पुगेको बताए।

शाहीले निष्पक्ष महाधिवेशनका लागि कुनै पदमा नउठ्ने स्वतन्त्र व्यक्तिको संयोजकत्वमा महाधिवेशन गर्नुपर्ने माग गरेका छन्। उनका अनुसार लिङ्देनकै नेतृत्वमा महाधिवेशन भए निष्पक्ष नहुने र युवालाई अवसर नदिने प्रवृत्ति कायम रहनेछ।

पार्टीभित्र बढ्दो विवाद, नेताहरूको पार्टी परित्याग र गुटबन्दीले राप्रपा कमजोर बन्दै गएको भन्दै शाहीले पार्टी फुट्न नदिन पुस्तान्तरण र नयाँ नेतृत्व आवश्यक रहेको बताए। उनले लिङ्देनलाई नेतृत्व हस्तान्तरण गरेर संरक्षकको भूमिकामा बस्नसमेत सुझाव दिएका छन्।

यता अध्यक्ष राजेन्द्र लिङ्देनले भने आगामी केन्द्रीय समिति बैठकबाट महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिने बताएका छन्। उनका समर्थकहरूले नेतृत्वविरुद्ध भइरहेका आरोपलाई अस्वीकार गर्दै लिङ्देनकै नेतृत्वमा पार्टी एकताबद्ध रहने दाबी गरेका छन्।

 

तपाईको प्रतिक्रिया