शनिबार २३ जेठ २०८३
प्रविधी

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै

शनिबार जेठ २३, २०८३/ Saturday 06-06-26

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आजदेखि दुई दिने ‘रुपान्तरणका लागि प्रविधि’ राष्ट्रिय सम्मेलन सुरु हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा सम्मेलन हुन लागेको हो।

इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा. निरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी प्रयोगमार्फत समाजका विभिन्न समस्या समाधानका उपाय खोज्न सम्मेलनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार सम्मेलनमा विभिन्न विषयमा केन्द्रित नौ वटा सत्र सञ्चालन गरिनेछ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताहरूले आफ्ना अनुसन्धान प्रस्तुत गर्ने जानकारी दिए। साथै, प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल पनि आयोजना गरिने उनले बताए। सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरूलाई वक्ताका रूपमा आमन्त्रण गरिएको छ।

उपकुलपति ढकालले नेपालगन्जलाई प्रविधि केन्द्रका रूपमा विकास गर्ने प्रयासमा सम्मेलनले सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।

विश्वविद्यालयका सहप्राध्यापक रेगबहादुर भण्डारीले समुदाय र प्राविधिक विश्वविद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन सम्मेलन उपयोगी हुने बताए।

सम्मेलन संयोजक चतुर्भुज भट्टका अनुसार कार्यक्रममा वक्ता, विषयविज्ञ, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी करिब २५० जनाको सहभागिता रहनेछ।

 

तपाईको प्रतिक्रिया