शनिबार २० भदौ २०८३
समाज

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी गर्दा कोही भेटिएनन्, सेनाको टोली फर्कियो

सोमबार भदौ १५, २०८३/ Monday 08-31-26

रसुवा।  भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजी तथा उद्धार अभियानमा कोही व्यक्ति फेला नपरेपछि नेपाली सेनाको टोली फर्किएको छ।

बाढीपछि आयोजनाको सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंका गरिएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित खोजी तथा उद्धार अभियान सञ्चालन गरिएको थियो।

उद्धार टोली सुरुङभित्र प्रवेश गरी अन्तिम बिन्दुसम्म पुगेको थियो। टोलीले सम्भावित स्थानहरूमा विस्तृत खोजी गर्नुका साथै ड्रोन उडाएर सुरुङको अवस्थासमेत निरीक्षण गरेको थियो।

तर, सुरुङको अन्तिम बिन्दुसम्म पुगेर खोजी गर्दा पनि कुनै मानवीय उपस्थिति फेला नपरेपछि सुरुङभित्र मानिस फसेको आशंका हटेको जनाइएको छ।

खोजी अभियान सम्पन्न भएपछि नेपाली सेनाको उद्धार टोली रसुवाको धुन्चे फर्किएको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीपछि आयोजनामा कार्यरत कर्मचारी तथा अन्य व्यक्तिको अवस्थाबारे आशंका उत्पन्न भएपछि सुरुङलगायत जोखिमयुक्त क्षेत्रमा निरन्तर खोजी तथा उद्धार कार्य सञ्चालन हुँदै आएको थियो।

 

तपाईको प्रतिक्रिया