आज कृष्ण जन्माष्टमीः पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाइँदैछ। जन्माष्टमीको अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको ठूलो भीड लागेको छ।
भगवान् श्रीकृष्णको पूजा तथा दर्शनका लागि मन्दिर पुगेका भक्तजन लामो लाइनमा बसेका छन्। उनीहरू भजन–कीर्तन गर्दै तथा श्रीकृष्णको नाम स्मरण गर्दै मन्दिरमा पूजा–अर्चना गरिरहेका छन्।
हिन्दु धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णलाई धर्म, सत्य, प्रेम र कर्मका प्रतीकका रूपमा श्रद्धा गर्ने गर्छन्। जन्माष्टमीका दिन भक्तजनले व्रत बस्ने, पूजा–आरती गर्ने, भजन–कीर्तन गर्ने तथा मध्यरातमा श्रीकृष्णको जन्मोत्सव मनाउने परम्परा छ।
यस अवसरमा पाटनको कृष्ण मन्दिरसहित देशभरका विभिन्न कृष्ण मन्दिरमा विशेष पूजा, आरती, धार्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम आयोजना भइरहेका छन्।
पाटनको कृष्ण मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षाकर्मी तथा व्यवस्थापन टोली परिचालन गरिएको छ। काठमाडौं उपत्यकाका अन्य कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ।
नेपालमा मात्र नभई विश्वका विभिन्न स्थानमा रहेका हिन्दु धर्मावलम्बीहरूले समेत व्रत, पूजा तथा धार्मिक अनुष्ठान गरी श्रद्धापूर्वक श्रीकृष्ण जन्माष्टमी मनाइरहेका छन्।
तपाईको प्रतिक्रिया