समाज
चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए
बिहीबार भदौ १८, २०८३/ Thursday 09-03-26
सिन्धुपाल्चोक। रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक आज तातोपानी नाका हुँदै नेपाल फर्किएका छन्।
तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चिनियाँ पक्षले राहदानी नम्बरलगायत विवरणसहित उनीहरूलाई लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो।
नेपाल फर्किनेमा अधिकांश सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका नागरिक छन्। अस्थायी पास लिएर केरुङ पुगेका नेपालीलाई चीनले तातोपानी नाकासम्म फर्काउन सहजीकरण गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ।
रसुवागढी नाका र पासाङल्हामु राजमार्ग बाढीले क्षतिग्रस्त भएपछि केरुङ पुगेका नेपाली अलपत्र परेका थिए। महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाका अनुसार केरुङमा करिब १ हजार ६०० नेपाली रहेको अनुमान छ भने करिब ८०० जनाले नेपाल फर्किन नाम टिपाएका छन्।
तपाईको प्रतिक्रिया