शुक्रबार १९ भदौ २०८३
समाज

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट सुनियो आवाज, उद्धारकर्मीले गरे फसेकासँग कुराकानी

शुक्रबार भदौ १९, २०८३/ Friday 09-04-26

काठमाडौं । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका क्रममा महत्वपूर्ण प्रगति भएको छ।

नौ दिनदेखि जारी खोज तथा उद्धार अभियानका क्रममा शुक्रबार उद्धारकर्मीले सुरुङभित्र रहेका व्यक्तिहरूसँग संवाद गर्न सफल भएका छन्। उद्धार टोलीका अनुसार सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ।

उद्धारकर्मीले सुरुङभित्र रहेका व्यक्तिलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने जवाफ आएको बताइएको छ।

नेपाली सेना र सशस्त्र प्रहरीको टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धारलाई तीव्र बनाइरहेको छ। सुरुङभित्र फसेकासँग प्रत्यक्ष संवाद हुनुलाई उद्धार अभियानमा महत्वपूर्ण र आशाजनक संकेतका रूपमा लिइएको छ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपानेले पनि उद्धारमा खटिएको नेपाली सेनाले सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनेको जानकारी आफूले पाएको बताएका थिए।

न्यौपाने बिहीबार साँझसम्म इन्जिनियरका रूपमा आयोजनास्थलमै रहेर उद्धार कार्यमा सहयोग गरिरहेका थिए। उनले नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोलीसहित उद्धारमा खटिएका सबैप्रति सम्मान व्यक्त गर्दै सुरुङभित्र फसेकाहरूको सकुशल उद्धार हुने विश्वास व्यक्त गरेका छन्।

त्रिशूली–३ ‘ए’ को सुरुङमा फसेकाहरूको उद्धारका लागि सुरक्षा निकाय तथा प्राविधिक टोलीले निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।

 

तपाईको प्रतिक्रिया