शनिबार २३ जेठ २०८३
राजनीति

१३ राजदूत पदमा प्रतिस्पर्धा गर्न झण्डै ३ हजारको आवेदन

शनिबार जेठ २३, २०८३/ Saturday 06-06-26

काठमाडौं । विभिन्न देशका लागि राजदूत तथा स्थायी प्रतिनिधि नियुक्तिका लागि झण्डै तीन हजार जनाले आवेदन दिएका छन्। खुला प्रतिस्पर्धामार्फत राजदूत छनोट गर्न गरिएको आह्वानप्रति इतिहासमै सबैभन्दा बढी आकर्षण देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जेठ १४ गतेदेखि आवेदन खुला गरेको थियो। आवेदन दिने अवधि समाप्त भएसँगै अनलाइन, इमेल तथा प्रत्यक्ष उपस्थितिमार्फत ठूलो संख्यामा आवेदन प्राप्त भएको जानकारी दिएको छ।

सरकारले १३ वटा राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि आवेदन मागेको थियो। यसअघि विभिन्न देशमा राजनीतिक नियुक्तिबाट नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाइएपछि तथा पदमुक्त गरिएपछि ती पद रिक्त भएका थिए।

रिक्त पदमा योग्य व्यक्तिको छनोट गर्न सरकारले पहिलोपटक खुला प्रतिस्पर्धाको प्रक्रिया अवलम्बन गरेको हो। प्राप्त आवेदनहरूको रुजु तथा प्रमाणीकरण सम्पन्न भएपछि योग्य उम्मेदवारहरूको सूची मन्त्रिपरिषद्मा पेश गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिषद्बाट सिफारिस भएका उम्मेदवारहरूले संसदीय सुनुवाइ प्रक्रिया पार गर्नुपर्नेछ। त्यसपछि संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिबाट राजदूत नियुक्ति गरिनेछ।

 

तपाईको प्रतिक्रिया