शनिबार २३ जेठ २०८३
खेलकुद

एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपाल हङकङसँग ६९ रनले पराजित

शनिबार जेठ २३, २०८३/ Saturday 06-06-26

काठमाण्डौ । एसीसी महिला प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको छ।

मलेसियामा भएको खेलमा हङकङले दिएको १ सय ९ रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा मात्र ४० रनमा समेटियो। नेपालका लागि सोनी पाखरिनले १२ रन र रुविना क्षेत्रीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। हङकङकी इक्रा सहरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट हात पारिन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ३ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो। हङकङका लागि यास्मिन दासवानीले सर्वाधिक ४२ रनको योगदान दिइन्। नेपालका तर्फबाट रुविना क्षेत्री र रिया शर्माले समान १–१ विकेट लिए।

समूह ‘डी’ अन्तर्गत नेपाल र हङकङ दुवै टोली यसअघि नै क्वाटरफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए। अन्तिम खेलको नतिजासँगै हङकङ समूह विजेता बनेको छ भने नेपाल उपविजेताका रूपमा क्वाटरफाइनलमा पुगेको छ।

क्वाटरफाइनलका खेलहरू आगामी बुधवारदेखि सुरु हुनेछन्। नेपालले यसअघि आफ्नो पहिलो खेलमा कतारलाई ८ विकेटले तथा दोस्रो खेलमा भुटानलाई ५१ रनले पराजित गरेको थियो। हङकङले पनि कतारलाई ८३ रनले र भुटानलाई १४ रनले हराएको थियो।

समूह चरणबाट कतार र भुटान बाहिरिएका छन्। १८ राष्ट्र सहभागी रहेको प्रतियोगिताको शीर्ष चार टोलीले महिला टी–२० एसिया कपका लागि छनोट हुने अवसर प्राप्त गर्नेछन्।

 

तपाईको प्रतिक्रिया