शनिबार २३ जेठ २०८३
समाज

रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल

शनिबार जेठ २३, २०८३/ Saturday 06-06-26

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशभित्र रोजगारीका अवसर विस्तार गर्ने क्षेत्रहरूलाई राज्यले विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

शनिबार राजधानीमा आयोजित नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रोजगारीको अभावका कारण नेपालीहरू विदेशिन बाध्य भएको उल्लेख गरे। यस्तो अवस्था अन्त्य गर्न स्वदेशमै पर्याप्त रोजगारी सिर्जना हुने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

नेपालले उद्योग तथा व्यवसाय सञ्चालनमा नकारात्मक प्रभाव पर्ने खालका नीति वा परिस्थितिप्रति सचेत रहनुपर्ने आवश्यकता औँल्याए। उत्पादनमूलक क्षेत्रको विकासमार्फत देशभित्रै वस्तु उत्पादन र उपभोग बढाउन सकिए निर्यात प्रवर्द्धन हुने र आयातमा निर्भर अर्थतन्त्रलाई क्रमशः निर्यातमुखी बनाउन सकिने उनको भनाइ थियो।

उनले अर्थतन्त्रको दिगो विस्तार, राजस्व वृद्धि तथा आर्थिक समृद्धिका लागि उद्योग–व्यवसायको विकास अपरिहार्य रहेको बताए। उद्योगधन्दा फस्टाएसँगै नागरिकको आम्दानी बढ्ने, आर्थिक अवस्था सुदृढ हुने र उपभोग क्षमता समेत विस्तार हुने उनको धारणा थियो।

पूर्वप्रधानमन्त्री नेपालले उत्पादन, उद्यमशीलता र रोजगारीलाई केन्द्रमा राखेर नीति निर्माण गर्न सके देशको आर्थिक विकासले गति लिने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया