शनिबार २३ जेठ २०८३
राजनीति

रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि

शनिबार जेठ २३, २०८३/ Saturday 06-06-26

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठनलाई पूर्ण वैधानिक र निर्वाचित संरचनामा रूपान्तरण गर्ने अभियानअन्तर्गत आजदेखि देशव्यापी जिल्ला अधिवेशन तथा नेतृत्व चयन प्रक्रिया सुरु गरेको छ।

पार्टीका अनुसार वडा र पालिका तहका अधिवेशन तथा निर्वाचन सम्पन्न भइसकेपछि जेठ २३ र २४ गते दुई दिन देशभरका अधिकांश जिल्लामा जिल्ला अधिवेशन आयोजना गरिएको हो। यसका लागि केन्द्रीय निर्वाचन आयोगले आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गरी निर्वाचन प्रक्रिया सञ्चालनमा ल्याएको जनाएको छ।

रास्वपाका केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जिल्ला अधिवेशन पार्टीको संगठन विस्तार र संस्थागत विकासको महत्वपूर्ण चरण भएको बताएका छन्। उनका अनुसार विगतमा तदर्थ जिम्मेवारीमा रहेका व्यक्तिहरूले स्वतः स्थायी नेतृत्व दाबी गर्ने अभ्यासलाई अन्त्य गर्दै लोकतान्त्रिक र पारदर्शी निर्वाचनमार्फत नेतृत्व चयन गरिनेछ।

निर्वाचन प्रक्रिया निष्पक्ष र व्यवस्थित बनाउन प्रत्येक जिल्लामा तीन सदस्यीय तथा प्रत्येक प्रदेशमा पाँच सदस्यीय निर्वाचन समिति खटाइएको आयोगले जनाएको छ।

पार्टीको निर्वाचन पोर्टलअनुसार हालसम्म ४ हजार २४६ वटा वडा समिति र ५१२ वटा पालिका समितिको अधिवेशन सम्पन्न भइसकेको छ। साथै थप केही तदर्थ वडा तथा पालिका समितिको विवरण पनि अद्यावधिक गरिएको छ।

निर्वाचन कार्यतालिकाअनुसार आज सातै प्रदेशका ३८ जिल्लामा मतदान तथा नेतृत्व चयन भइरहेको छ भने भोलि जेठ २४ गते थप २७ जिल्लामा निर्वाचन सम्पन्न गरिनेछ। विशेष संगठनात्मक अवस्थाका कारण एक जिल्लाको निर्वाचन भने जेठ २६ गतेका लागि तय गरिएको छ। सोही दिनबाट बागमती प्रदेशमा प्रादेशिक अधिवेशनको प्रक्रिया पनि सुरु हुने पार्टीले जनाएको छ।

रास्वपाले राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। कार्यतालिकामा समावेश नभएका बाँकी १० जिल्लाको अधिवेशन भने महाधिवेशनपछि क्रमशः सञ्चालन गरिने निर्वाचन आयोगले स्पष्ट पारेको छ।

आयोगले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन सम्पूर्ण सदस्य, उम्मेदवार तथा सरोकारवालालाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरण कायम राख्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया