एसियन गेम्स छनोटः ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा
काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
सिंगा ओभल मैदानमा शनिबार बिहान सम्पन्न खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा लोकेश बमले अविजित ४४ रनको उत्कृष्ट योगदान दिए। कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे भने कुशल भुर्तेलले २० रन जोडे। आसिफ शेखले १ रन बनाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमा अलआउट भएको थियो। ओमानका कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबेर अली अकबरले २२ रनको योगदान दिए।
नेपालका लागि करण केसीले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे। शाहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १–१ विकेट लिए।
फाइनलमा नेपालले हङकङ र मलेसियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल दिउँसो १२:१५ बजे सुरु हुने तालिका छ।
यस प्रतियोगिताको सेमिफाइनलमा पुगेका नेपाल, ओमान, हङकङ र मलेसिया चारै टोलीले एसियन गेम्सका लागि छनोट सुनिश्चित गरिसकेका छन्।
तपाईको प्रतिक्रिया