आइतबार २४ जेठ २०८३
राजनीति

रास्वपाले २८ जिल्लामा एकसाथ जिल्ला अधिवेशन गर्दै

आइतबार जेठ २४, २०८३/ Sunday 06-07-26

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशका २८ जिल्लामा पहिलो जिल्ला अधिवेशन आयोजना गर्दैछ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार अधिवेशन कोशी प्रदेशका चार, मधेश प्रदेशका चार, बागमती प्रदेशका दुई, गण्डकी प्रदेशका चार, लुम्बिनी प्रदेशका तीन, कर्णाली प्रदेशका छ र सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा हुँदैछ।

आज अधिवेशन हुने जिल्लामा उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम पश्चिम, मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरा रहेका छन्।

निर्वाचन प्रक्रिया निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको प्रमुख केसीले जानकारी दिए।

यसअघि शनिबार रास्वपाले ३८ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ। झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुलीलगायत जिल्लामा अधिवेशन सम्पन्न भएको आयोगले जनाएको छ। त्यसैगरी स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा पनि नयाँ नेतृत्व चयन भइसकेको छ।

आयोगले जिल्ला अधिवेशनलाई पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक तथा जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने महत्वपूर्ण चरणका रूपमा व्याख्या गरेको छ। साथै, आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सबै सरोकारवालासँग सहयोगको अपिल गरिएको छ।

विशेष साङ्गठनिक कारणले बारा जिल्लाको अधिवेशन भने जेठ २६ गतेका लागि तय गरिएको छ। रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ भने बाँकी १० जिल्लाको अधिवेशन महाधिवेशनपछि गर्ने योजना बनाएको छ।

पार्टीका प्रदेश अधिवेशनहरू पनि जेठ २६ गतेदेखि सुरु हुनेछन्। त्यसका लागि सातै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरिएको छ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने कार्यक्रम छ।

 

तपाईको प्रतिक्रिया