महोत्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरी जिल्ला अधिवेशन आन्तरिक विवादका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ। संगठन विस्तार तथा अधिवेशन प्रक्रियामा देखिएको असहमति र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निर्वाचन समितिले बाँकी कार्यक्रम रोक्ने निर्णय गरेको हो।
जिल्ला अधिवेशन निर्वाचन समितिले जारी गरेको सूचनामा अधिवेशनसँग सम्बन्धित सबै बाँकी कार्यक्रम अर्को सूचना जारी नभएसम्म सञ्चालन नहुने उल्लेख गरिएको छ। समितिका अनुसार निर्वाचन प्रक्रिया अघि बढाउने क्रममा विभिन्न पक्षबीच विवाद उत्पन्न भएको र त्यसको समाधानका लागि थप समय आवश्यक परेकाले कार्यक्रम स्थगित गरिएको हो।
पार्टीभित्रको विवाद नगर तथा क्षेत्रीय अधिवेशनकै चरणदेखि सुरु भएको बताइएको छ। उम्मेदवारी दर्ता, प्रतिनिधि छनोट र नेतृत्व चयनका विषयमा विभिन्न समूहबीच मतभेद बढ्दै जाँदा केही स्थानमा कुटपिटका घटना समेत भएको स्रोतको दाबी छ।
जिल्ला नेतृत्व चयनको विषयलाई लिएर पनि नेताहरूबीच सहमति जुट्न नसकेको जनाइएको छ। यही परिस्थितिका कारण अधिवेशनको प्रक्रिया प्रभावित बनेको हो।
निर्वाचन समितिका संयोजक मनिषकुमार साहद्वारा जारी विज्ञप्तिमा विवादित पक्षहरूसँग छलफल गरी सहमतिमार्फत निकास खोज्ने प्रयास जारी रहेको उल्लेख गरिएको छ। सबै पक्षबीच समझदारी कायम भएपछि मात्रै अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिने जनाइएको छ।
तपाईको प्रतिक्रिया