एसियन गेम्स टी–२० छनोटको उपाधिका लागि आज नेपाल र हङकङ भिड्दै
काठमाडौं । एसियन गेम्स पुरुष टी–२० छनोट प्रतियोगिताको फाइनल खेल आज नेपाल र हङकङबीच हुँदैछ। सिंगापुरमा जारी प्रतियोगिताको उपाधिका लागि हुने खेल नेपाली समयअनुसार मध्यान्ह १२:१५ बजे सुरु हुनेछ।
नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यता, हङकङले मलेसियालाई ६ विकेटले हराउँदै उपाधि भिडन्तमा नेपालको सामना गर्ने अवसर पाएको हो।
नेपाल र हङकङबीच हालसम्म टी–२० अन्तर्राष्ट्रियमा १२ खेल भएका छन्। तीमध्ये २ खेल नतिजाविहीन रहँदा बाँकी १० खेलमा दुवै टोलीले समान ५–५ जित हात पारेका छन्। यसले आजको फाइनललाई अझ प्रतिस्पर्धात्मक बनाएको छ।
यसैबीच, हङकङविरुद्धको फाइनल नेपाली कप्तान दीपेन्द्र सिंह ऐरीका लागि विशेष हुनेछ। उनले आज आफ्नो अन्तर्राष्ट्रिय टी–२० करियरको १००औं खेल खेल्दै नयाँ कीर्तिमान कायम गर्नेछन्।
दीपेन्द्रले सन् २०१८ जुलाई २९ मा नेदरल्याण्ड्सविरुद्ध लड्समा आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए। त्यसयता उनी टोली सदस्यदेखि उपकप्तान हुँदै हाल नेपाली टी–२० टोलीको कप्तानको जिम्मेवारीमा पुगेका छन्।
९९ टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले ८५ इनिङ्समा ब्याटिङ गर्दै २ हजार २११ रन बनाएका छन्। साथै, ७२ इनिङ्समा बलिङ गर्दै ६२ विकेट पनि लिएका छन्। उनको नाममा एकपटक शून्य रनमा आउट भएको तथ्यांक रहेको छ।
दीपेन्द्र नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजारभन्दा बढी रन र ५० भन्दा बढी विकेट लिने पहिलो खेलाडी समेत हुन्।
तपाईको प्रतिक्रिया