काठमाडौं । नेपालले सिंगापुरमा सम्पन्न एसियाली खेलकुद पुरुष बीस ओभर क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। वर्षाले प्रभावित बनेको अन्तिम प्रतिस्पर्धामा नेपालले हङकङलाई डकवर्थ–लुइस पद्धतिअनुसार १९ रनले पछि पार्दै विजेता बन्न सफल भयो।
हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। त्यसबेला डकवर्थ–लुइस पद्धतिअनुसार नेपाल अगाडि रहेकाले उपाधि नेपालले जितेको हो।
खेल अवरुद्ध हुँदा कप्तान दीपेन्द्रसिंह ऐरी ९ रन र रोहित पौडेल ३५ रन बनाएर मैदानमा थिए। रोहितले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए भने दीपेन्द्रले ४ बलमा १ चौका प्रहार गरेका थिए।
नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ४० बलमा ८ चौका र ३ छक्काको मद्दतमा ६५ रन बनाए। आसिफ शेख भने खाता खोल्न नसकी आउट भए।
यसअघि पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो। हङकङका अंशुमन रथले सर्वाधिक ८० रन बनाए। उनले ४५ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका थिए। शाहिद वासिफले ५५ रनको योगदान दिएका थिए।
नेपालका बलरमध्ये शेर मल्ल सर्वाधिक सफल रहे। उनले ४ विकेट लिए। करण केसीले २ विकेट तथा सन्दीप लामिछानेले १ विकेट हात पारे।
नेपालले यसअघि उपान्त्य चरणमा ओमानलाई ८ विकेटले पराजित गरेको थियो भने समूह चरणमा चीन र मलेसियामाथि ठूलो अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको थियो।
उपान्त्य चरणमा पुगेसँगै नेपाल आगामी सेप्टेम्बर–अक्टोबरमा जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनोट भइसकेको थियो। नेपालसँगै हङकङ, मलेसिया र ओमानले पनि एसियाली खेलकुदमा सहभागिता जनाउनेछन्।
यो सफलतासँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को महत्वपूर्ण उपलब्धि आफ्नो नाममा लेखाएको छ।
तपाईको प्रतिक्रिया