प्रधानमन्त्रीको स्पष्टीकरण नआएसम्म संसद्को गतिरोध अन्त्य हुँदैन : एमाले
काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले प्रतिनिधिसभामा देखिएको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक पहल गर्नुपर्ने बताएका छन्।
सोमबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बरालले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिका कारण सदनको कामकारबाही प्रभावित भएको उल्लेख गरे। उनले उत्पन्न विवाद समाधान गरी संसद्लाई सुचारु बनाउन प्रधानमन्त्री स्वयं अग्रसर हुनुपर्ने बताए।
बरालका अनुसार एमालेको मुख्य अडान भनेको प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराई विवादास्पद अभिव्यक्तिबारे स्पष्ट पार्न लगाउनु हो। उनले बजेटमाथिको छलफल महत्वपूर्ण भए पनि राष्ट्रिय सीमा र भूमिसँग सम्बन्धित विषय अझ गम्भीर भएकाले त्यसलाई बेवास्ता गर्न नसकिने बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएपछि राजनीतिक गतिरोध अन्त्य हुने अपेक्षा गरिएको भए पनि त्यसअनुसार वातावरण नबनेको बताए। सोही कारण संसद्को बैठक प्रभावित हुँदै आएको उनको भनाइ थियो।
बरालले राष्ट्रिय हितसँग जोडिएका विषयमा सबै पक्षले गम्भीरता देखाउनुपर्नेमा जोड दिँदै संवाद र सहमतिमार्फत निकास खोज्न आग्रह गरे।
तपाईको प्रतिक्रिया