काठमाडौँ । सामाजिक सञ्जालमा ट्राफिक नियम उल्लंघन गरेको भिडियो सार्वजनिक भएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईमाथि ट्राफिक प्रहरीले आवश्यक कानुनी कारबाही गरेको छ।
नेपाल प्रहरीका अनुसार केही दिनअघि एक हातले मोटरसाइकल चलाउँदै अर्को हातमा मोबाइल प्रयोग गरेको दृश्य सार्वजनिक भएपछि उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो। सो घटनापछि सामाजिक सञ्जालमा व्यापक आलोचना र कारबाहीको माग उठेको थियो।
यसैबीच सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद साम्पाङले आफूविरुद्ध उठेका टिप्पणी तथा ट्राफिक कारबाहीप्रति प्रतिक्रिया दिएका छन्। उनले सडक दुर्घटनाको मुख्य कारण चालकको लापरबाहीभन्दा पनि सडकको दयनीय अवस्था र खाल्डाखुल्डी भएको दाबी गरे।
उनले भने, “एक हातले मोटरसाइकल चलाउँदा दुर्घटना हुने होइन, सडकमा रहेका खाल्डाखुल्डीका कारण दुर्घटना हुन्छ।” उनले आफूले दुवै हात छोडेर पनि मोटरसाइकल सन्तुलनमा चलाउन सक्ने दाबीसमेत गरे।
ट्राफिक नियमको कानुनी प्रावधानबारे प्रश्न उठाउँदै उनले एक हातले सवारी चलाउनु कुन दफा अनुसार कसुर हो भन्ने स्पष्ट हुनुपर्ने बताए। साथै हेलमेटको फित्ता सम्बन्धी आलोचनाको जवाफ दिँदै उनले त्यो पुरानो भएकाले खुकुलो देखिएको स्पष्टिकरण दिए।
साम्पाङले सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यक्तिगत सामग्रीको प्रयोगबारे पनि टिप्पणी गर्दै विद्यार्थीहरूको मोबाइल नियन्त्रणमा लिएर नष्ट गरिएको घटनालाई गलत भएको बताए। उनले मोबाइल अहिलेको समयमा अत्यन्त महत्वपूर्ण सामग्री भएको भन्दै यस्ता कार्यले गलत सन्देश दिने उल्लेख गरे।
सामाजिक सञ्जालमा आफ्ना गतिविधि निरन्तर भाइरल भइरहने प्रसंगमा उनले आफू सधैं श्रम र संस्कृतिको पक्षमा उभिने बताएका छन्।
तपाईको प्रतिक्रिया