मंगलबार २६ जेठ २०८३
बिश्वो

इरानद्वारा उत्तरी इजरायलमा क्षेप्यास्त्र आक्रमण, क्षेत्रीय तनाव पुनः चुलियो

सोमबार जेठ २५, २०८३/ Monday 06-08-26

काठमाडौं। इरानले उत्तरी इजरायललाई लक्षित गर्दै व्यापक क्षेप्यास्त्र आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वैशाखमा भएको युद्धविरामपछि इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष तथा ठूलो सैन्य आक्रमण हो।

आक्रमणपछि इजरायली सेनाले आवश्यक परे जुनसुकै बेला जवाफी कारबाही गर्न सकिने चेतावनी दिएको छ। इरानको इस्लामिक क्रान्तिकारी सुरक्षा बलले भने यो आक्रमण एक सातासम्म जारी रहने सैन्य अभियानको प्रारम्भ मात्र भएको जनाएको छ।

इजरायली रक्षा बलका अनुसार इरानबाट प्रहार गरिएका अधिकांश क्षेप्यास्त्रहरूलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत आकाशमै निष्क्रिय पारिएको छ। आक्रमणको जोखिमका कारण सुरक्षित आश्रयस्थलमा बस्न निर्देशन दिइएका नागरिकहरूलाई अवस्था सामान्य बन्दै गएपछि बाहिर निस्कन अनुमति दिइएको छ।

यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संयमता अपनाउन आग्रह गरेका छन्। सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले इरान र इजरायल दुवै पक्षले एकअर्कामाथि आक्रमण गरिसकेको उल्लेख गर्दै थप तनाव नबढाउन दबाब दिएका हुन्।

ट्रम्पले इरानलाई सम्बोधन गर्दै भने, “तपाईंहरूले क्षेप्यास्त्र प्रहार गरिसक्नुभएको छ, अब यतिमै रोकिनुस् र वार्ताको टेबुलमा फर्किनुस्।” उनले इरानसँग सम्भावित ऐतिहासिक सम्झौताको प्रक्रिया चलिरहेको र वर्तमान द्वन्द्वले त्यसमा असर पार्न नहुने धारणा पनि व्यक्त गरेका छन्।

यो तनावको मुख्य कारण आइतबार बिहान इजरायलले लेबनानको राजधानी बेरुतस्थित हिजबुल्लाहसँग सम्बन्धित सैन्य संरचनामाथि गरेको हवाई आक्रमणलाई मानिएको छ। उक्त घटनापछि इरानले प्रतिशोध लिने चेतावनी दिएको थियो। इरानी विदेश मन्त्रालयले इजरायलको आक्रामक गतिविधिविरुद्ध राष्ट्रिय हितको रक्षा गर्न आफूहरूले कदम चालेको जनाएको छ।

इरानको आक्रमणपछि इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले कडा प्रतिक्रिया जनाउँदै यसको परिणाम इरानले नै भोग्नुपर्ने बताएका छन्। त्यस्तै, इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामीरले आदेश प्राप्त हुनासाथ इरानमाथि सैन्य कारबाही गर्न सेना पूर्ण रूपमा तयार रहेको बताएका छन्।

सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अमेरिकाले जेरुसेलमस्थित आफ्नो दूतावास सोमबारका लागि बन्द गरेको छ। साथै, इजरायलले गाजा क्षेत्रका रफाह र केरेम शालोमसहित विभिन्न सीमा नाकाहरू पुनः बन्द गरेको जनाएको छ।

घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेको छ। बेलायती विदेश सचिव यभेट कुपरले दुवै पक्षलाई तत्काल तनाव कम गर्न र संयम अपनाउन आग्रह गरेकी छन्। उनले जारी द्वन्द्व कसैको हितमा नरहेको उल्लेख गर्दै क्षेत्रीय स्थायित्वका लागि संवाद र कूटनीतिक पहल नै उत्तम विकल्प भएको बताएकी छन्।

 

तपाईको प्रतिक्रिया