करका दर चुहाएको आरोपमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर परिवर्तनसम्बन्धी सूचना चुहावट प्रकरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि गम्भीर छानबिन हुनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले करका दर हेरफेर गर्ने विषय अत्यन्त गोप्य हुने र त्यसबारे अर्थमन्त्रीबाहेक अन्य कसैलाई जानकारी नहुने दाबी गरे। उनले उक्त प्रकरणमा अर्थमन्त्रीको भूमिकाबारे निष्पक्ष अनुसन्धान गरी आवश्यक कानुनी कारबाही गर्नुपर्ने धारणा व्यक्त गरे।
शाहीले करसम्बन्धी सूचना बाहिरिएपछि कोरला र रसुवागढी नाकाबाट कर छली गरी सवारीसाधन भित्रिएको आरोप समेत लगाए। उनले यस्तो संवेदनशील जानकारी कसरी बाहिर पुग्यो भन्ने विषयमा स्पष्ट जवाफ आवश्यक रहेको बताए।
घटनाको सत्यतथ्य सार्वजनिक गर्न संसद्को मातहतमा विशेष छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै उनले कर दर हेरफेर र सूचना चुहावटसम्बन्धी सम्पूर्ण विषयको निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिए।
तपाईको प्रतिक्रिया