मंगलबार २६ जेठ २०८३
राजनीति

सुदूरपश्चिममा सरकार विस्तार हुँदै, कांग्रेसले टुंग्यायो मन्त्रीको नाम

मानबहादुर रावल, बेलबहादुर राना र जुना दानीलाई सरकारमा पठाउने निर्णय
सोमबार जेठ २५, २०८३/ Monday 06-08-26

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तारको विषय लामो समयदेखि चर्चामा रहँदै आएको बेला नेपाली कांग्रेसको असन्तुष्ट पक्षले अन्ततः सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ। असन्तुष्ट समूहले केन्द्रसँगको परामर्शपछि तीन जनाको नाम सिफारिस गरेको हो।

प्राप्त जानकारी अनुसार असन्तुष्ट पक्षबाट मानबहादुर रावल, बेलबहादुर रानाजुना दानीलाई सरकारमा पठाउने निर्णय गरिएको छ। यसअघि मन्त्री छनोटको जिम्मेवारी कांग्रेसका प्रदेशसभा सदस्य दिवानसिंह विष्टलाई दिइएको थियो। तर प्रदेशस्तरमै सहमति जुट्न नसकेपछि विषय पार्टीको केन्द्रीय नेतृत्वसम्म पुगेको थियो।

केन्द्रीय नेतृत्वले विभिन्न पक्षसँग छलफल तथा परामर्श गरेपछि अन्ततः तीन जनाको नाममा सहमति जुटाएको बताइएको छ। सहमतिअनुसार रावल र रानालाई मन्त्री तथा दानीलाई राज्यमन्त्री बनाउने तयारी गरिएको छ।

कांग्रेसभित्र लामो समयदेखि मन्त्री छनोटलाई लिएर देखिएको असन्तुष्टि र शक्ति संघर्षका कारण प्रदेश सरकार विस्तार प्रक्रिया प्रभावित हुँदै आएको थियो। मन्त्रीको नाम टुंगिएसँगै सरकार विस्तारको बाटो खुलेको र प्रदेश सरकारलाई पूर्णता दिने प्रक्रिया अघि बढेको राजनीतिक वृत्तमा चर्चा छ।

असन्तुष्ट पक्षले आफ्नो कोटाबाट सरकारमा जाने प्रतिनिधिको नाम औपचारिक रूपमा दिएपछि मुख्यमन्त्री कमलबहादुर शाह ले सरकार विस्तारको तयारी तीव्र बनाएका छन्। मन्त्रालयको जिम्मेवारी बाँडफाँट तथा शपथ ग्रहणको मिति तय गर्न सम्बन्धित पक्षहरूसँग छलफल भइरहेको स्रोतले जनाएको छ।

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसभित्रको आन्तरिक विवाद समाधानतर्फ उन्मुख भएको संकेतका रूपमा यस निर्णयलाई हेरिएको छ। मन्त्री नियुक्तिसँगै प्रदेश सरकारको कार्यसम्पादन थप प्रभावकारी हुने र विकास निर्माणका कामलाई गति दिने अपेक्षा गरिएको छ। साथै, लामो समयदेखि रिक्त रहेका मन्त्रालयहरूले पनि पूर्ण नेतृत्व पाउने भएकाले प्रशासनिक तथा नीतिगत निर्णय प्रक्रियामा सहजता आउने विश्वास गरिएको छ।

कांग्रेसभित्रको शक्ति सन्तुलन मिलाउने प्रयासस्वरूप गरिएको यो सहमतिले प्रदेश राजनीतिमा नयाँ सन्देश दिएको विश्लेषण गरिएको छ। अब सरकार विस्तारको औपचारिक घोषणा र मन्त्रीहरूको शपथ ग्रहण प्रक्रियातर्फ सबैको ध्यान केन्द्रित भएको छ।

तपाईको प्रतिक्रिया