काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.१४ अंकले घटेर २७२८.०३ बिन्दुमा कायम भएको छ।
आजको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
बजारसँगै कारोबार रकम पनि सुस्त देखिएको छ। दिनभरमा ९२ लाख ३१ हजारभन्दा बढी कित्ता सेयर ५८ हजार ३९१ पटक किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ९० करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ।
कारोबारका क्रममा सोपान फर्मास्युटिकल्स, एपालो हाइड्रो, बोटलर्स नेपाल (बालाजु), अपर लोहोरे खोला हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन्।
समूहगत प्रदर्शनतर्फ होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहका सूचकमा वृद्धि देखिएको छ। अन्य ११ समूह भने राताम्मे बनेका छन्।
तपाईको प्रतिक्रिया