बजेटले गरिबीलाई छोएन, माथिल्लो वर्गलाई झन् माथि लैजान खोज्यो : एमाले
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गरिबमुखी हुन नसकेको भन्दै आलोचना गरेको छ।
प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफलका क्रममा एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले बजेटमा गरिब तथा निमुखा नागरिकको जीवनस्तर उकास्ने ठोस कार्यक्रम नदेखिएको बताइन्। उनका अनुसार बजेटले तल्लो वर्गको आय वृद्धि र जीवनयापन सुधारभन्दा पनि धनी र गरिबबीचको दूरी अझ बढाउने संकेत गरेको छ।
अर्यालले सरकारले मध्यम वर्ग विस्तारको लक्ष्य लिएको भए पनि निरपेक्ष गरिबीको रेखामुनि रहेका नागरिकलाई माथि नउठाई त्यो लक्ष्य हासिल हुन नसक्ने तर्क गरिन्। ‘जग नै कमजोर छ भने माथिल्लो संरचना कसरी बलियो हुन्छ?’ भन्दै उनले सरकारको नीतिमाथि प्रश्न उठाइन्।
उनले बजेटले गरिबी न्यूनीकरणलाई पर्याप्त प्राथमिकता नदिएको उल्लेख गर्दै हुनेखाने र हुँदा खानेबीचको आर्थिक खाडल अझ फराकिलो बनाउने जोखिम रहेको बताइन्। मध्यम वर्गको दायरा विस्तार गर्न पनि सबैभन्दा पहिले तल्लो वर्गको आय र अवसर बढाउन आवश्यक रहेको उनको धारणा थियो।
अर्यालले समावेशी आर्थिक विकासका लागि बजेट गरिब वर्गको उत्थानमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउँदै वर्तमान बजेटले त्यो अपेक्षा पूरा गर्न नसकेको निष्कर्ष प्रस्तुत गरिन्।
तपाईको प्रतिक्रिया