काठमाडौं । चर्चित सेफ सन्तोष साहलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको हो। कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार पक्राउ परेका साहलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।
प्रहरीका अनुसार गैरीधारास्थित ‘मिथिला थाली’ रेस्टुरेन्ट खरिद–बिक्रीका क्रममा १ करोड ३० लाख रुपैयाँमा भएको सम्झौताअनुसार साहले प्रारम्भिक रूपमा १५ लाख रुपैयाँ मात्र भुक्तानी गरेका थिए। बाँकी रकम तिर्न विभिन्न मितिका चेक दिएका थिए।
तीमध्ये २५ लाख रुपैयाँको एक चेक बैंकमा साट्न जाँदा खातामा पर्याप्त रकम नभएपछि चेक बाउन्स भएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गरेको थियो।
उक्त उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर साहलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया