शुक्रबार ५ असार २०८३
खेलकुद

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार विजयी सुरुवात

बुधबार असार ३, २०८३/ Wednesday 06-17-26

काठमाडौं । कप्तान लियोनल मेसीको शानदार ह्याट्रिकको प्रेरणामा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप फुटबलमा अल्जेरियामाथि ३–० को सहज जित निकालेको छ।

खेलमा ७९ मिनेट मैदानमा रहेका ३८ वर्षीय मेसीले तीन गोल गर्दै विश्वकप इतिहासमा अर्को महत्वपूर्ण कीर्तिमान कायम गरेका छन्। अल्जेरियाविरुद्धको ह्याट्रिकसँगै उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्‍याएका छन्।

यससँगै मेसीले विश्वकप इतिहासमा सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका छन्। मेसीको उत्कृष्ट लयलाई हेर्दा यही विश्वकपमा उनले क्लोजको कीर्तिमान उछिन्ने सम्भावना बलियो देखिएको छ।

मेसीले खेलको १७औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ६०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने ७६औँ मिनेटमा ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे।

जितसँगै समूह ‘जे’ मा अर्जेन्टिनाले शीर्ष स्थान कब्जा गरेको छ। यही समूहअन्तर्गत जोर्डन र अष्ट्रियाबीचको खेल आज बिहान पौने १० बजे हुने तालिका छ।

 

तपाईको प्रतिक्रिया