शुक्रबार ५ असार २०८३
राजनीति

सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन सभामुखले रुलिङ गर्नुपर्छ : सांसद शर्मा

बुधबार असार ३, २०८३/ Wednesday 06-17-26

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउन सभामुखले आवश्यक रुलिङ नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीले संसदमा आएर आफ्नो भनाइ सच्याउनुपर्ने माग दोहोर्‍याए। उनले उक्त विषयमा स्पष्ट जवाफ नआएसम्म विपक्षी दलहरूको विरोध जारी रहने चेतावनी दिए।

शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिबारे पटक–पटक ध्यानाकर्षण गराउँदा पनि न सभामुखबाट सरकारलाई रुलिङ भएको, न सरकारले संसदप्रति जवाफदेही बन्दै स्पष्ट धारणा राखेको बताए।

“हामीले प्रधानमन्त्रीको गलत अभिव्यक्ति सच्याउन माग गरेका छौँ। तर अहिलेसम्म न सभामुखबाट सरकारलाई रुलिङ भएको छ, न सरकारले संसदमा आएर आफ्नो प्रष्टोक्ति दिएको छ,” उनले भने, “प्रधानमन्त्रीले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्ति संसदमै आएर सच्याउनुपर्छ। यदि उहाँको भनाइ सही हो भने त्यसको आधार र कारण संसदसमक्ष स्पष्ट पार्न तयार हुनुपर्छ।”

उनले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन सभामुखले तत्काल रुलिङ गर्नुपर्ने माग गर्दै सरकार संसदप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए। साथै, सरकारले संसदको गरिमा कमजोर पार्ने काम गरिरहेको आरोप पनि लगाए।

 

तपाईको प्रतिक्रिया