३६ वर्षपछि विश्वकपमा अस्ट्रियाको ऐतिहासिक जित, जोर्डन ३–१ ले पराजित
काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणमा अस्ट्रियाले ऐतिहासिक जित दर्ता गर्दै डेब्यु टोली जोर्डनलाई ३–१ गोलअन्तरले पराजित गरेको छ। यो जित अस्ट्रियाको विश्वकपको फाइनल चरणमा सन् १९९० यताकै पहिलो विजय हो।
स्यान फ्रान्सिस्कोमा सम्पन्न खेलमा अस्ट्रियाले २१औँ मिनेटमा रोमानो स्मिडको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफमा एक गोलले पछाडि परेको जोर्डनले दोस्रो हाफको सुरुआतमै उत्कृष्ट पुनरागमन गर्दै ५०औँ मिनेटमा अली ओलवानको शानदार गोलबाट बराबरी गर्यो।
खेलको ६०औँ मिनेटतिर मार्को अर्नाउटोभिचले गोल गरे पनि भिडियो सहायक रेफ्री (VAR) को समीक्षा पछि स्टेफान पोशको हातमा बल लागेको पुष्टि भएपछि उक्त गोल मान्यता पाएन।
बराबरीतर्फ उन्मुख खेलमा ७६औँ मिनेटमा जोर्डनका डिफेन्डर याजान अल अरबबाट आत्मघाती गोल भएपछि अस्ट्रियाले पुनः अग्रता बनायो। त्यसपछि इन्जुरी समयको १२औँ मिनेटमा प्राप्त पेनाल्टीलाई अर्नाउटोभिचले सदुपयोग गर्दै टोलीको जित सुनिश्चित गरे।
पूर्व म्यानचेस्टर युनाइटेडका प्रशिक्षक राल्फ रङ्गनिकको नेतृत्वमा रहेको अस्ट्रियाले सन् १९९८ पछि पहिलोपटक विश्वकपको फाइनल चरणमा स्थान बनाएको हो। टोलीले यसअघि विश्वकपमा अन्तिम जित सन् १९९० मा अमेरिकाविरुद्ध हासिल गरेको थियो।
यस जितसँगै अस्ट्रियाले महत्वपूर्ण तीन अंक जोडेको छ। अब उसले समूह चरणको अर्को खेलमा साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ।
यता, पहिलोपटक विश्वकप खेलिरहेको जोर्डनले हार बेहोरे पनि प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै सकारात्मक संकेत दिएको छ। टोलीले अब अल्जेरियाविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ।
तपाईको प्रतिक्रिया