शुक्रबार ५ असार २०८३
खेलकुद

एम्बाप्पेको कीर्तिमानी प्रदर्शनमा फ्रान्सको विजयी सुरुवात

बुधबार असार ३, २०८३/ Wednesday 06-17-26

काठमाडौँ । कप्तान किलियन एम्बाप्पेको दुई गोलको मद्दतमा फ्रान्सले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ। न्यूयोर्कस्थित न्युजर्सी स्टेडियममा गएराति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित सुनिश्चित गर्‍यो। खेलको ६६औँ मिनेटमा माइकल ओलिसेको पासमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए।

फ्रान्सले ८२औँ मिनेटमा आफ्नो अग्रता दोब्बर बनायो। एड्रियन राबिओटको पासमा ब्राड्ली बार्कोलाले गोल गर्दै टोलीलाई २–० को सहज अवस्थामा पुर्‍याए।

इन्जुरी समयको पाँचौँ मिनेटमा इब्राहिम म्बायेले सेनेगलका लागि एक गोल फर्काउँदै खेलमा आशा जगाउने प्रयास गरे। तर त्यसको एक मिनेटपछि नै एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।

यस खेलसँगै एम्बाप्पे फ्रान्सका सर्वाधिक गोलकर्ता बनेका छन्। उनले राष्ट्रिय टोलीका लागि ९९ खेलमा ५८ गोल पूरा गर्दै ओलिभियर जिरुडको ५७ गोलको कीर्तिमान उछिनेका हुन्। साथै, विश्वकपमा उनको व्यक्तिगत गोल संख्या १४ पुगेको छ।

विश्वकपअन्तर्गत आज बिहान साबिक विजेता अर्जेन्टिना र अल्जेरियाबीच प्रतिस्पर्धा हुँदैछ।

 

तपाईको प्रतिक्रिया