विश्वकपमा नर्वेको विजयी सुरुवात, हालान्डको दुई गोलमा इराक ४–१ ले पराजित
काठमाडौँ । स्टार स्ट्राइकर एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ। समूह ‘आई’ अन्तर्गतको खेलमा नर्वेले इराकलाई ४–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।
सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको नर्वेका लागि हालान्डले विश्वकप डेब्युमै दुई गोल गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले। खेलको २९औँ मिनेटमा गोल गर्दै उनले नर्वेलाई अग्रता दिलाएका थिए।
तर, ३९औँ मिनेटमा इराकका आइमेन हुसेनले उत्कृष्ट हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए। इराकको खुसी धेरै बेर टिक्न सकेन, किनभने चार मिनेटपछि नै हालान्डले रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गरे।
पहिलो हाफ २–१ को अग्रतासहित समाप्त गरेको नर्वेले दोस्रो हाफमा खेलमाथि पूर्ण नियन्त्रण कायम राख्यो। ७६औँ मिनेटमा लियो ओस्टिगार्डले हेडमार्फत गोल गर्दै नर्वेको अग्रता थप फराकिलो बनाए।
इन्जुरी समयको छैटौँ मिनेटमा इराकका खेलाडीबाट आत्मघाती गोल भएपछि नर्वेले ४–१ को सहज जित दर्ता गर्यो।
यसअघि समूह ‘आई’ कै अर्को खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको थियो। जितसँगै नर्वेले समूह चरणमा महत्वपूर्ण तीन अंक जोड्दै विश्वकप अभियान उत्साहजनक ढंगले सुरु गरेको छ।
तपाईको प्रतिक्रिया