२० वर्षपछि दोहोरियो दुर्लभ दृश्य, एकै खेलमा तीन रेड कार्ड
काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै तीनवटा रातो कार्ड देखिएपछि रेफ्रीको शैलीबारे चर्चा सुरु भएको छ। मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको खेलमा दक्षिण अफ्रिकाका याया सिथोले र थेम्बा ज्वान तथा मेक्सिकोका सेसर मोन्टेसले रातो कार्ड पाए।
सन् २०१८ र २०२२ का विश्वकपमा पूरै प्रतियोगिताभर जम्मा चार–चारवटा मात्र रातो कार्ड देखाइएकोमा २०२६ को पहिलो खेलमै तीन खेलाडी मैदानबाट बाहिरिएपछि यसपटक कार्डको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
यद्यपि, तीनवटै निर्णय प्राविधिक रूपमा सही रहेको विश्लेषण गरिएको छ। याया सिथोलेले स्पष्ट गोल अवसर रोकेका थिए भने थेम्बा ज्वानलाई भीएआरको सहयोगमा हिंसात्मक व्यवहारका लागि रातो कार्ड दिइएको थियो। इन्जुरी समयमा मेक्सिकोका सेसर मोन्टेसले दक्षिण अफ्रिकाका खुलिसो मुदाउलाई गोलको अवसरबाट वञ्चित गरेपछि उनी पनि मैदानबाट बाहिरिएका थिए।
फिफा रेफ्री समितिका प्रमुख पियरलुइजी कोलिनाको नेतृत्वमा पछिल्ला विश्वकपहरूमा रातो कार्ड कम देखिएको भए पनि उद्घाटन खेलका घटनाले यस संस्करणमा रेफ्रीहरू कडा रूपमा प्रस्तुत हुन सक्ने संकेत गरेको छ।
तपाईको प्रतिक्रिया