समाज
राहदानी छपाइ अनियमितता प्रकरणमा संलग्न थप दुई जना पक्राउ
बुधबार असार ३, २०८३/ Wednesday 06-17-26
काठमाडौं । राहदानी छपाइमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा जर्मनीस्थित मुहलबाउर कम्पनीका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल तथा राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन्। अख्तियार स्रोतका अनुसार दुवै जनाविरुद्ध अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्याद थप गरिएको छ।
यसअघि आयोगले राहदानी विभागका तत्कालीन महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई पक्राउ गरेको थियो। उनीहरूलाई पनि अनुसन्धानका लागि चार दिनको म्याद प्राप्त भएको थियो।
नयाँ पक्राउसँगै राहदानी छपाइसम्बन्धी अनियमितता प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको छ। अख्तियारले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया