बुधबार ३ असार २०८३
राजनीति

श्रम संस्कृति पार्टीको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित

बुधबार असार ३, २०८३/ Wednesday 06-17-26

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार १५ मिनेटका लागि अवरुद्ध भएको छ। श्रम संस्कृति पार्टीका सांसदहरूले मन्त्रीहरूको जवाफप्रति असन्तुष्टि जनाउँदै विरोध गरेपछि बैठक स्थगित गर्नुपरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले विनियोजन विधेयकमाथि दिएको जवाफ सन्तोषजनक नभएको भन्दै श्रम संस्कृति पार्टीले थप प्रश्न गर्ने अवसर माग गरेको थियो। मन्त्रीको जवाफपछि पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रतिप्रश्न गरेका थिए।

तर प्रतिप्रश्नको जवाफ पनि चित्तबुझ्दो नभएको दाबी गर्दै साम्पाङले पुनः प्रश्न गर्न पाउनुपर्ने माग राखे। सभामुख डीपी अर्यालले संसदीय प्रक्रियाअनुसार प्रतिप्रश्नमाथि फेरि प्रतिप्रश्न गर्न नमिल्ने स्पष्ट पारे पनि साम्पाङ आफ्नो अडानबाट पछि हटेनन्।

त्यसपछि साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभाको वेल घेराउ गर्दै विरोध प्रदर्शन गरेका थिए। सभामुखले पटक–पटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विरोध जारी रहेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको घोषणा गरे।

यसअघि पनि वेल घेराउकै बीच सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सांसदहरूले उठाएका विषयमा सरकारको धारणा प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया