बुधबार ३ असार २०८३
अर्थ

गभर्नर पौडेलको हस्ताक्षर भएको ५ सय दरका नयाँ नोट प्रचलनमा

बुधबार असार ३, २०८३/ Wednesday 06-17-26

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारदेखि ५०० रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ। मुद्रा व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार नयाँ नोटमा पुरानै आकार र रङ्ग कायम राखिए पनि सुरक्षा तथा पहिचानसम्बन्धी केही नयाँ विशेषता समावेश गरिएको छ।

नयाँ बैंकनोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। नोटमा प्रयोग गरिएको ३.५ मिलिमिटर चौडा सुरक्षा धागो सीधा हेर्दा रातो र कोण परिवर्तन गरेर हेर्दा हरियो रङ्गमा देखिने व्यवस्था गरिएको छ। त्यस्तै, सगरमाथाको चित्रको दायाँपट्टि रहेको कुबेरको आकृति पनि प्रकाशको कोणअनुसार सुनौलो र हरियो रङ्गमा परिवर्तन हुने विशेषता राखिएको छ।

दृष्टिविहीन व्यक्तिहरूलाई नोटको मूल्य सहज रूपमा छुट्याउन मद्दत पुग्ने उद्देश्यले बायाँ किनारमा दुईवटा कालो थोप्ला समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ।

नोटको दायाँ भागमा लालीगुराँसको पानी छाप राखिएको छ भने अगाडिको तल्लो भागमा वि.सं. २०८२ र पछाडिको तल्लो भागमा २०२५ एडी अंकित गरिएको छ। नोटको अगाडि विश्वको सर्वोच्च शिखर सगरमाथाको चित्र र पछाडि पाटेबाघको चित्र समावेश गरिएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ नोट झ/३८ ०००००१ देखि ट/८३ ९९९९९९ सम्मका प्रिफिक्स नम्बरमा बजारमा उपलब्ध हुनेछ।

तपाईको प्रतिक्रिया