काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य वृद्धि सहित बन्द भएको छ। दिनभरको कारोबारपछि नेप्से ०.०८ अंकले उकालो लाग्दै २७०५.५३ विन्दुमा पुगेको हो।
यसअघि लगातार दुई दिन बजार ओरालो लागेको थियो। मंगलबार नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा झरेको थियो भने सोमबार १२.२६ अंकको गिरावटसहित २७११.७६ विन्दुमा बन्द भएको थियो।
परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ३५२ कम्पनीका ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार रुपैयाँभन्दा बढी पुगेको छ। मंगलबार भने ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
आजको कारोबारमा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलसम्म पुगेको छ। सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावरका लगानीकर्ताले उच्च लाभ प्राप्त गरेका छन्।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट अग्रस्थानमा रह्यो। उक्त कम्पनीको २१ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। त्यसपछि रिलायन्स स्पिनिङ मिल्सको १८ करोड, बुंगल हाइड्रोपावरको १७ करोड, सेन्ट्रल फाइनान्सको १६ करोड तथा आँखुखोला जलविद्युत कम्पनीको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
बजारमा कारोबार भएका कम्पनीहरूमध्ये १२६ वटाको सेयर मूल्य बढेको छ भने १३१ वटाको मूल्य घटेको छ। १४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
क्षेत्रगत रूपमा हेर्दा डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर, इन्भेस्टमेन्ट तथा म्युचुअल फन्ड समूहका उपसूचक हरियालीमा रहे। अन्य अधिकांश समूहका उपसूचक भने घटेका छन्।
तपाईको प्रतिक्रिया