बिहीबार ४ असार २०८३
समाज

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

बुधबार असार ३, २०८३/ Wednesday 06-17-26

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) ले रिक्त रहेको उपकुलपति पदका लागि आवेदन खुला गरेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले बुधबार सूचना जारी गर्दै आवश्यक योग्यता पुगेका इच्छुक व्यक्तिहरूबाट दरखास्त माग गरेको हो।

समितिका अनुसार सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको लिंकमार्फत आवेदन दिन सकिनेछ।

केयूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि–२०८३ अनुसार नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाइएको बताइएको छ। यसका लागि गत जेठ १९ गते बसेको विश्वविद्यालय सभाको बैठकले शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो।

उक्त समितिमा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगका शिक्षा क्षेत्र हेर्ने सदस्य पनि रहेका छन्। समितिले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी योग्य उम्मेदवारहरूको नाम उपकुलपति नियुक्तिका लागि सिफारिस गर्नेछ।

उच्च शिक्षा, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको काठमाडौँ विश्वविद्यालयमा नयाँ नेतृत्व चयनसँगै शैक्षिक तथा संस्थागत विकासका कार्यक्रमले थप गति लिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया