स्पेनको सानदार पुनरागमन, साउदी अरेबियामाथि ४–० को सहज जित
एटलान्टा । युवा प्रतिभा लामिने यामाल र अनुभवी फरवार्ड मिकेल ओयार्साबालको उत्कृष्ट प्रदर्शनमा स्पेनले विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा साउदी अरेबियालाई ४–० ले पराजित गरेको छ। पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्पेनले यस जितसँगै प्रतियोगितामा आफ्नो लय समातेको छ।
आइतबार राति सम्पन्न खेलमा स्पेनले सुरुदेखि नै दबाब सिर्जना गरेको थियो। खेलको १०औँ मिनेटमा ओयार्साबालको पासलाई सदुपयोग गर्दै लामिने यामालले गोल गरेपछि स्पेनले अग्रता लिएको थियो। उक्त गोल यामालको विश्वकप करियरको पहिलो गोलसमेत बनेको छ।
पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि आलोचनामा परेका स्ट्राइकर मिकेल ओयार्साबालले यस खेलमा उत्कृष्ट पुनरागमन गरे। उनले पहिलो हाफमै दुई गोल गर्दै स्पेनलाई ३–० को बलियो अवस्थामा पुर्याए। ड्यानी ओल्मो र एम्रिक लापोर्टको समन्वयमा सिर्जना भएको अवसरलाई उनले गोलमा परिणत गरे भने त्यसको तीन मिनेटपछि पेड्रो पोरो र मार्क कुकुरेलाको आकर्षक पासमा व्यक्तिगत दोस्रो गोल थपे।
दोस्रो हाफको सुरुमै साउदी अरेबियाका डिफेन्डर हसन अल–ताम्बाक्तीबाट आत्मघाती गोल भएपछि स्पेनले ४–० को अग्रता बनायो। त्यसपछि स्पेनले खेललाई सहज रूपमा नियन्त्रणमा राख्दै अन्तिमसम्म सोही नतिजा कायम राख्यो।
मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेको ६५औँ जन्मदिनकै अवसरमा आएको यो जित स्पेनका लागि विशेष रह्यो। चोट र लामो समय बेन्चमा बिताएपछि मैदान फर्किएका यामालले खेलभरि प्रभावशाली प्रदर्शन गर्दै साउदी डिफेन्सलाई निरन्तर दबाबमा राखेका थिए।
यस जितसँगै समूह ‘एच’ मा स्पेनले दुई खेलबाट चार अंक जोडेको छ। साउदी अरेबियाको भने समान खेलबाट एक अंक मात्रै रहेको छ।
तपाईको प्रतिक्रिया