लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले अन्ततः पदबाट हट्ने घोषणा गरेका छन्। आफ्नै लेबर पार्टीभित्र बढ्दो असन्तुष्टि र सांसद तथा मन्त्रीहरूको निरन्तर दबाबपछि उनले राजीनामाको निर्णय लिएका हुन्।
भारी बहुमतसहित सत्ता सम्हालेको दुई वर्ष नपुग्दै स्टार्मर नेतृत्वमाथि प्रश्न उठ्न थालेको थियो। पार्टीभित्रका धेरै सांसदहरूले उनका केही नीतिगत निर्णयलाई अलोकप्रिय भन्दै आलोचना गर्दै आएका थिए। साथै, आगामी निर्वाचनमा निगेल फराज नेतृत्वको रिफर्म पार्टीबाट बढ्दो चुनौती सामना गर्नुपर्ने चिन्ताले पनि लेबर पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको थियो।
यद्यपि शुक्रबारसम्म स्टार्मरले नेतृत्वका लागि हुने कुनै पनि प्रतिस्पर्धामा आफू सहभागी हुने संकेत दिएका थिए। तर सप्ताहन्तमा परिवारसँग चेकर्समा समय बिताएपछि उनले पदत्याग गर्ने निष्कर्षमा पुगेको बताइएको छ। बेलायती सञ्चारमाध्यम गार्डियनका अनुसार मन्त्रिपरिषद्का आधा दर्जनभन्दा बढी सदस्यहरूले व्यक्तिगत रूपमा भेटेर उनलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए।
स्टार्मरको राजीनामासँगै अब लेबर पार्टीमा नयाँ नेताको चयन प्रक्रिया सुरु हुने भएको छ। मध्यावधि निर्वाचनमा रिफर्म पार्टीलाई पराजित गरेका एन्डी बर्नहमलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको छ भने स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङ पनि नेतृत्व दौडका प्रमुख प्रतिस्पर्धी मानिएका छन्।
नयाँ नेता चयन र सत्ता हस्तान्तरणको प्रक्रिया सम्पन्न नहुँदासम्म भने स्टार्मरले कार्यवाहक प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालिरहनेछन्।
तपाईको प्रतिक्रिया