सोमबार ८ असार २०८३
अर्थ

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ४४ करोडको सेयर कारोबार

सोमबार असार ८, २०८३/ Monday 06-22-26

काठमाडौँ । सेयर बजारमा देखिएको मन्दीको प्रभाव सोमबार पनि कायम रह्यो। अघिल्लो कारोबार दिन सामान्य सुधार देखिएको बजारमा सोमबार पुनः गिरावट आएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.४६ अंकले घट्दा बजारमा सूचीकृत अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लाग्यो। कारोबारमा सहभागी कम्पनीहरूमध्ये ११६ वटाको सेयर मूल्य बढे पनि १४३ कम्पनीको मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रह्यो।

सोमबार ९० हजार ८६२ पटक भएको कारोबारमार्फत ८१ लाख ३८ हजार ४३३ कित्ता सेयर किनबेच भएको छ। यस दिन कुल ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा कम हो। गत शुक्रबार ४ अर्ब ५३ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

उपसमूहगत प्रदर्शन हेर्दा १३ मध्ये केवल तीन उपसमूहमा हरियाली देखियो। फाइनान्स, लघुवित्त र व्यापार समूहका परिसूचक सामान्य रूपमा बढेका छन् भने बाँकी सबै उपसमूह ओरालो लागेका छन्।

नेप्सेको तथ्यांकअनुसार बैंकिङ उपसमूह ०.१० प्रतिशत, विकास बैंक ०.०७ प्रतिशत, होटल तथा पर्यटन ०.१४ प्रतिशत, जलविद्युत् ०.२० प्रतिशत, लगानी ०.०२ प्रतिशत, जीवन बीमा ०.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०६ प्रतिशत, सामूहिक लगानी कोष ०.५९ प्रतिशत, निर्जीवन बीमा ०.२१ प्रतिशत तथा अन्य उपसमूह ०.२० प्रतिशतले घटेका छन्।

यससँगै पछिल्ला केही दिनदेखि बजारमा देखिएको सुस्तता अझै कायम रहेको संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया