सोमबार ८ असार २०८३
समाज

मनसुन थप ४ प्रदेशमा विस्तार

सोमबार असार ८, २०८३/ Monday 06-22-26

काठमाडौँ ।  यस वर्ष नेपालमा मनसुन अपेक्षित समयभन्दा छ दिन ढिलो प्रवेश गरे पनि अहिले पूर्वी र मध्य क्षेत्रका अधिकांश भूभागमा यसको प्रभाव विस्तार हुन थालेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको मनसुन बुलेटिनअनुसार शुक्रबार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन हाल मधेश, बागमती र गण्डकी प्रदेशका केही क्षेत्र हुँदै लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको छ। कोशी प्रदेश भने पूर्ण रूपमा मनसुनको प्रभावमा आएको महाशाखाले जनाएको छ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार मनसुनी प्रणाली अझै पूर्ण रूपमा सक्रिय भइसकेको छैन। प्रणाली कमजोर रहेकाले देशका बाँकी क्षेत्रमा मनसुन फैलिन केही दिन समय लाग्ने अनुमान गरिएको छ।

नेपालमा सामान्यतया जुन १३ तारिखतिर मनसुन भित्रिने भए पनि यस वर्ष जुन १९ मा मात्र प्रवेश गरेको थियो। मनसुन विस्तारसँगै पूर्वी तथा मध्य नेपालका विभिन्न जिल्लामा वर्षा हुन थालेको छ।

महाशाखाले मनसुनी गतिविधिको निरन्तर निगरानी भइरहेको जानकारी दिँदै मौसमसम्बन्धी अद्यावधिक सूचना तथा आगामी दिनको पूर्वानुमान नियमित रूपमा हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यसैबीच, विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको जनाएको छ। मौसमविद् सुदर्शन हुमागाईँका अनुसार वर्षा कम हुने र तापक्रम तुलनात्मक रूपमा बढी रहने प्रक्षेपण गरिएको छ।

विभागको अनुमानअनुसार कर्णाली प्रदेशका दक्षिणी भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी जिल्लामा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया