अमेरिका–इरान वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र सम्झौतामा पुग्ने सम्भावना
रोयटर्स । अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा सम्पन्न उच्चस्तरीय वार्ताको पहिलो चरण सकिएको छ। मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका कतार र पाकिस्तानका अनुसार दुवै पक्ष ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने मार्गचित्रमा सहमत भएका छन्।
स्विट्जरल्यान्डको बुर्गेनस्टकमा भएको वार्ताको प्रारम्भिक चरण तनावपूर्ण बनेको थियो। इरानले पुनः हर्मुज जलडमरूमध्य बन्द गर्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका थिए।
यद्यपि वार्तापछि केही महत्वपूर्ण विषयमा सहमति जुटेको बताइएको छ। लेबनानमा जारी द्वन्द्व अन्त्यका लागि संयन्त्र विकास गर्ने, साथै विवादित समुद्री मार्गबाट व्यावसायिक जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न प्रत्यक्ष सञ्चार प्रणाली स्थापना गर्ने निर्णय गरिएको छ। प्राविधिक तहका छलफल भने साताभरि जारी रहने जनाइएको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी प्रतिनिधिहरूबीच आइतबार सुरु भएको वार्ता सोमबार बिहानसम्म चलेको थियो। यो संवाद गत साता भएको समझदारीपत्रको आधारमा अप्रिलदेखि लागू युद्धविरामलाई थप ६० दिनसम्म कायम राख्ने उद्देश्यसहित अघि बढाइएको बताइएको छ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघ्चीले तेल तथा पेट्रोकेमिकल निर्यातमा सहुलियत, रोक्का गरिएका केही सम्पत्ति फुकुवा तथा पुनर्निर्माण र विकास योजनालाई अघि बढाउने विषयमा समझदारी बनेको दाबी गरेका छन्।
तर वार्ताको नतिजाबारे अमेरिकी र इरानी स्रोतहरूले फरक–फरक विवरण सार्वजनिक गरेका छन्। इरानको तस्निम समाचार एजेन्सीका अनुसार ट्रम्पको चेतावनी सार्वजनिक भएपछि इरानी प्रतिनिधिमण्डल वार्ता कक्षमा फर्कन अस्वीकार गरेको थियो। यद्यपि कतार र पाकिस्तानमार्फत सन्देश आदानप्रदान भने निरन्तर जारी रहेको बताइएको छ।
इरानले भने आणविक कार्यक्रमसम्बन्धी औपचारिक वार्ता अघि बढाउनुअघि रोक्का गरिएका सम्पत्ति फुकुवा तथा तेल निर्यातसम्बन्धी अमेरिकी सहुलियत कार्यान्वयन हुनुपर्ने अडान दोहोर्याएको छ।
तपाईको प्रतिक्रिया