सोमबार ८ असार २०८३
राजनीति

रास्वपा महाधिवेशनको बन्दसत्र अझै सुरु भएन

सोमबार असार ८, २०८३/ Monday 06-22-26

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार बिहानका लागि निर्धारित बन्दसत्र तय गरिएको समयभन्दा एक घण्टाभन्दा बढी ढिलो हुँदा पनि सुरु हुन सकेको छैन।

आयोजकका अनुसार बन्दसत्र बिहान ८ः३० बजे सभापति रवि लामिछानेको उपस्थितिपछि सुरु गर्ने तयारी गरिएको थियो। तर बिहान साढे ९ बजेसम्म पनि उनी कार्यक्रम स्थलमा नपुगेपछि बन्दसत्र सञ्चालन हुन सकेन।

कार्यक्रमस्थलमा आवश्यक व्यवस्थापनको कामसमेत पूर्ण रूपमा सम्पन्न नभएको देखिएको छ। बन्दसत्र सञ्चालन हुने हलमा कुर्सी व्यवस्थापनलगायतका तयारी बिहान साढे ९ बजेसम्म जारी रहेको थियो।

सभापति लामिछाने आइतबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग महाधिवेशन स्थलबाट करिब १९ किलोमिटर टाढा रहेको एक रिसोर्टमा बसेका थिए।

बन्दसत्रमा भएको ढिलाइका कारण महाधिवेशनका अन्य कार्यतालिका पनि प्रभावित भएका छन्। विशेषगरी केन्द्रीय सदस्य पदका आकांक्षीहरूको उम्मेदवारी दर्ता प्रक्रिया, फाराम वितरण तथा बुझाउने काम अझै सुरु हुन सकेको छैन।

महाधिवेशन प्रतिनिधिहरू बन्दसत्र सुरु हुने प्रतीक्षामा रहे पनि कार्यक्रम कहिलेबाट सञ्चालन हुने भन्नेबारे आयोजक पक्षले हालसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

 

तपाईको प्रतिक्रिया