सोमबार ८ असार २०८३
बिश्वो

कतारको रास लफान ग्यास केन्द्रमा विस्फोट: १८ बेपत्ता, ५४ घाइते

सोमबार असार ८, २०८३/ Monday 06-22-26

काठमाडौं । कतारको रास लफान औद्योगिक क्षेत्रमा रहेको बार्जान ग्यास आपूर्ति केन्द्रमा आइतबार राति भएको विस्फोटमा १८ जना बेपत्ता भएका छन् भने ५४ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ।

बेपत्ता व्यक्तिहरूको खोजीका लागि विशेष अभियान सञ्चालन गरिएको छ। आन्तरिक सुरक्षा बल (लेखिया) अन्तर्गतको अन्तर्राष्ट्रिय खोज तथा उद्धार समूह र नागरिक सुरक्षाको संयुक्त टोलीले उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएको छ। हालसम्म कतार सरकारले बेपत्ता र घाइते श्रमिकहरूको पहिचान सार्वजनिक गरेको छैन।

रास लफान क्षेत्रमा नेपाली, भारतीय तथा बंगलादेशी श्रमिकहरू कार्यरत छन्। विशेषगरी नेपाली श्रमिकहरू स्काफफोल्डिङलगायत विभिन्न प्राविधिक काममा संलग्न रहेको बताइन्छ। उक्त क्षेत्रमा सयौं आपूर्ति कम्पनीमार्फत श्रमिकहरू परिचालन गरिएको छ।

प्रारम्भिक जानकारीअनुसार युद्धका क्रममा इरानी क्षेप्यास्त्र आक्रमणबाट क्षतिग्रस्त भएको प्राकृतिक ग्यास निर्यात टर्मिनल पुनः सञ्चालन गर्ने प्रयास भइरहेका बेला दुर्घटना भएको हो। इरानसँगको तनाव र स्ट्रेट अफ हर्मुजमा कायम नियन्त्रणका कारण कतारले केही समय ग्यास उत्पादन तथा आपूर्ति प्रभावित बनाएको थियो। पछिल्ला वार्तापछि जलमार्गमा आवागमन सहज बन्दै गएपछि कतारले निर्यात पूर्वाधार पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको थियो।

सरकारी स्वामित्वको कतारइनर्जीका अनुसार बार्जान ग्यास केन्द्रमा प्राविधिक काम भइरहेका बेला अचानक विस्फोट भएको हो। प्लानेट ल्याब्स पिबिसीद्वारा सार्वजनिक स्याटेलाइट तस्बिरहरूले रास लफान औद्योगिक क्षेत्रमा उल्लेखनीय क्षति पुगेको संकेत गरेका छन्।

विश्वका प्रमुख प्राकृतिक ग्यास उत्पादकमध्ये एक कतारको मुख्य ऊर्जा केन्द्रमा भएको यो घटनाले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप अनिश्चितता र चासो बढाएको विश्लेषकहरूले बताएका छन्।

बार्जान प्लान्टको दैनिक उत्पादन क्षमता करिब १.४ अर्ब स्ट्यान्डर्ड क्युबिक फिट ग्यास रहेको छ। उत्पादित ग्यास मुख्यतः घरेलु विद्युत उत्पादन तथा समुद्री पानीलाई प्रशोधन गरी खानेपानी उपलब्ध गराउने डिसालिनेशन प्लान्ट सञ्चालनमा प्रयोग हुँदै आएको छ।

उक्त प्लान्टमा कतार सरकारको प्रमुख स्वामित्व रहेको छ भने बहुराष्ट्रिय ऊर्जा कम्पनी एक्सोनमोबिलको पनि आंशिक हिस्सेदारी छ।

यसअघि गत मार्चमा इरानको एक क्षेप्यास्त्र रास लफान क्षेत्रमा प्रहार हुँदा त्यहाँको पूर्वाधारमा क्षति पुगेको बताइएको थियो। त्यसपछि कतारले उत्पादन गतिविधि सीमित बनाएको थियो।

फारसको खाडीमा अवस्थित विश्वकै सबैभन्दा ठूलो अपतटीय प्राकृतिक ग्यास क्षेत्र कतार र इरानले संयुक्त रूपमा उपयोग गर्दै आएका छन्। यही विशाल ऊर्जा स्रोतको आधारमा कतार विश्वका धनी राष्ट्रहरूमध्ये एकका रूपमा स्थापित भएको छ।

 

तपाईको प्रतिक्रिया