सुर्खेतको होटलबाट पक्राउ परेका पौडेललाई काठमाडौं ल्याइँदै
सुर्खेत । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुरबाट जारी गरिएको पक्राउ पुर्जीका आधारमा उनलाई सोमबार साँझ नियन्त्रणमा लिइएको हो।
प्रहरीले विभागबाट प्राप्त आधिकारिक पत्र तथा निर्देशनअनुसार खोजतलास गर्ने क्रममा पौडेललाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट फेला पारेको जनाएको छ। साँझ करिब ५ः१५ बजे उनलाई नियन्त्रणमा लिएर पक्राउ पुर्जी बुझाइएको र कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि विभागको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान अघि बढाइएको बताइएको छ। विभागले आवश्यक कारबाहीका लागि प्रहरीलाई निर्देशन दिएको थियो।
बुटवल उपमहानगरपालिका–९ स्थायी घर भएका तथा हाल ललितपुर महानगरपालिका–२५, मैयु आवास आयोजनामा बसोबास गर्दै आएका पौडेल सुर्खेतमा पार्टी कार्यक्रमका क्रममा पुगेका थिए।
पक्राउपछि उनलाई थप अनुसन्धानका लागि नेपालगञ्ज हुँदै काठमाडौं ल्याउने व्यवस्था गरिएको छ। प्रारम्भिक रूपमा रात्रिबसमार्फत काठमाडौं ल्याउने तयारी भए पनि पछि नेपालगञ्जबाट श्री एयरलाइन्सको उडानमार्फत काठमाडौं पठाउने निर्णय गरिएको स्रोतले जनाएको छ।
तपाईको प्रतिक्रिया