विश्वकपमा मेस्सीको नयाँ कीर्तिमान, अर्जेन्टिनाको लगातार दोस्रो जित
काठमाडौं । कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत अष्ट्रियालाई २–० ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।
अष्ट्रियाविरुद्धको खेलमा मेस्सीले दुवै गोल गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान कायम गरे। उनले खेलको ३८औँ मिनेटमा पहिलो गोल गरेका थिए भने इन्जुरी समयमा अर्को गोल थप्दै जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमानलाई पछि पारे।
यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै मेस्सीले क्लोजेको कीर्तिमान बराबरी गरेका थिए। अष्ट्रियाविरुद्ध थप दुई गोल गरेसँगै विश्वकपमा उनको कुल गोल संख्या १८ पुगेको छ।
खेलको चौथो मिनेटमै अर्जेन्टिनाले पेनाल्टीको अवसर पाए पनि मेस्सी त्यसलाई गोलमा परिणत गर्न असफल भएका थिए। यद्यपि उनले त्यसको केही समयपछि गोल गर्दै टोलीलाई अग्रता दिलाए र अन्तिम समयमा अर्को गोल थप्दै जित सुनिश्चित गरे।
यो जितसँगै अर्जेन्टिनाले समूह चरणमा लगातार दोस्रो सफलता हासिल गर्दै ६ अंक बनाएको छ। यस नतिजासँगै टोलीले नकआउट चरणमा आफ्नो स्थान पनि सुरक्षित गरेको छ। अर्जेन्टिनाले पहिलो खेलमा अल्जेरियालाई ३–० ले पराजित गरेको थियो।
तपाईको प्रतिक्रिया